Saturday, December 23, 2017

फेवाकिनारबाट साराङकोटसम्म केबलकारमा सरर..

यसरी बन्दै छ,केबलकार
पोखराको सराङकोटमा आजदेखि केबलकार निर्माण आजबाट शुरु भएको छ । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल साराङकोटलाई लक्षित गरेर केबलकार निर्माण सुरु गरेको हो । बुधबार निर्माणस्थलमा भुमिपुजा समेत गरेको छ । पोखरा २६ सेदी देखि पोखरा २६ सराङकोटसम्म जाने गरि केबलकार निर्माण गर्न लागेको हो । केबलकारमा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको छ । 
 
२ दशमलव २ किलोमिटर लम्बाई रहने केबलकारमा १३ वटा टावर रहने परार्मश दाता रोपवे नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालले जानकारी दिए । पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा संचालनगर्ने लक्ष्य रहेको बताए । उनले १७ वटा डब्बाबाट प्रति घण्टा ५ सय जनालाई सेवा दिन सक्ने उनले बताए । पछि थप गरेर ३५ वटा डब्बा पु¥याउन सकिने उनको भनाई छ । यात्रुको संख्या बढ्दै जादा डब्बा समेत बढाउन सकिने  उनको भनाई थियो । एउटा डब्बामा ८ जनायात्रु बस्न सक्ने छन् ।
अबको १८ महिनाभित्रै केबलकार निर्माण सम्पन्नगर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष कालु गुरुङले जानकारी दिए । केबलकार निर्माणका लागि त्यहाँ वरपरको जग्गाप्राप्तिको काम समेत सम्पन्न भएको उनले बताए । वन क्षत्रे पर्ने २४ रोपनी जग्गाको अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसगँ लिजमा लिएको उनल बताए । कम्पनीले पिल्लर रहेने ठाउँको निजी जग्गा किनिसेकेको र केबलकारको तार पर्ने ठाउँको जग्गाका धनीलाई शेयर दिने बताए । केबल कार निर्माणका लागि करिब एक अर्व खर्च लाग्ने गुरुङले बताए । 
 
उनले १ देखि ८ आना जग्गा पर्नेलाई ५० हजारको शेयर, ८ आना देखि १ रोपनी सम्म जग्गा पर्नेको १ लाख बराबरको शेयर दिने बताए । केबलकार निर्माणका लागि आवश्यक वित्तिय स्रोतको टुंगो समेत लागि सकेको उनको भनाई छ । केबलकार निर्माणको सबै काम चितवन कोईले पाएको छ । 
 
नेपालमा संचालनमा रहेको मनकामना र चन्द्रागिरी केबलकारमा जस्तै यसमा पनि सोही प्रविधिअनुसार एउटा तारमा कार झुन्डिने छन् । यो प्रविधिलाई डोपलमेयरको गोन्डोलाप्रविधि भनिन्छ । केबलकारमाआवश्यक सामानहरु निपोन जापानको प्रयोग हुने उनले बताए । 
 
अन्नपुर्ण केबलकार निर्माण तथा सञ्चालनका लागि तीन बर्ष अगाडि २०७० जेठमा नै उद्योग विभागमा कम्पनी दर्ता भएको थियो। तर विभिन्न कारणले निर्माण प्रक्रिया सुरु हुन सकेको थिएन । केवलकार निर्माण पछि करिब २ सय जनाले रोजगारी पाउने छन्।

Tuesday, December 19, 2017

केबुलकार लाइसेन्स ओगट्ने होड

प्रस्ट कानुन नहुँदा जलविद्युत् आयोजनाका लागि खोला ओगटेजस्तै निजी कम्पनीहरूबीच केबुलकार (रज्जुमार्ग) सञ्चालन गर्ने भन्दै भीरपहरा ओगट्ने होड सुरु भएको छ । कतिपय ठाउँमा त दुईतीनवटा कम्पनीले एउटै ठाउँमा केबुलकार सञ्चालन गर्न दाबी गरेका छन् । त्यति मात्र होइन, कतिपय कम्पनीका प्रस्ताव सुन्दा नै अस्वाभाविक लाग्छन् ।
पोखरा–मुक्तिनाथसम्म सञ्चालन गर्ने गरी ८१ किमि लामो केबुलकार सञ्चालनका लागि परेको आवेदनले पनि त्यसलाई पुष्टि गर्छ । जबकि केबलकारको औसत लागत प्रतिकिलोमिटर २ अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिन्छ ।
यो लागतलाई आधार मान्दा पोखरा–मुक्तिनाथ केबुलकार निर्माणका लागि करिब डेढ खर्बभन्दा बढी लाग्ने देखिन्छ । त्यति लगानी निजी क्षेत्रबाट जुटाउन तत्काल सम्भव देखिँदैन । त्यसबाहेक प्रस्ट कानुन अभावका कारण केबुलकारको सञ्चालन र अनुगमन कसले गर्ने भन्नेमा पनि अन्योल कायम छ । जसका कारण सेवाको सञ्चालन पनि विवादमा पर्ने गरेका छन् । हालसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मुलुकका विभिन्न ठाउँमा केबुलकार सञ्चालन गर्न डेढ दर्जन कम्पनीले आवेदन दिएका छन् ।
तर, केबुलकार सञ्चालनको अनुमति कुन निकायले दिने भन्नेमा अझै अन्योल कायम छ । पर्यटकीय सेवा भएकाले त्यसलाई पर्यटन विभागले आफ्नो क्षेत्राधिकारभित्र दाबी गर्ने गरेको छ भने व्यवसाय तथा उद्योग भएका कारण उद्योग विभागले आफूले नै सञ्चालन अनुमतिदेखि अनुगमनले गर्न पाउनुपर्ने दाबी गर्दै आएको थियो ।
यही अन्योलबीच २०७२ सालमा सरकारको कार्यविभाजन नियमावली जारी भएपछि केबलकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा आएको थियो । त्यसबाहेक केबुलकार सेवा सञ्चालनकासम्बन्धी प्रस्ट कार्यविधि नहुँदा कम्पनीहरूबीच एउटै स्थानमा सेवा सञ्चालनका लागि अस्वस्थ प्रतिस्पर्धासमेत सुरु भएको छ ।
प्रस्ट कानुनी व्यवस्था नहुँदा एउटै ठाउँमा चार/पाँचवटासम्म कम्पनीहरूले केबलकार सञ्चालनका लागि आवेदन दिने परिस्थिति सिर्जना भएको छ । कतिपय विवाद त सर्वोच्च र अख्तियारसम्म पुगिसकेका छन् । त्यसैको एउटा उदाहरण हो, पाथीभरा मन्दिरमा सञ्चालन गर्ने भनिएको केबुलकार सेवा । उक्त स्थानमा केबुल कार सञ्चालनका लागि पाँचवटा कम्पनीले आवेदन दिएका थिए । कम्पनीहरूबीचको विवाद बढदै गएपछि सञ्चालन अनुमतिको विषय अख्तियार र पछि सर्वोच्चसम्म पुगेको थियो ।
यो अन्योललाई चिर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक वर्षअघि नै कार्यविधिको मस्यौदा तर्जुमा गरेको थियो । उक्त कार्यविधि ३ मंसिर २०७३ मै मन्त्रीस्तरबाट पारित गरिएको थियो । त्यसलाई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाए पनि पारित भएन ।
उक्त कार्यविधिमा जलविद्युत् आयोजनाको जस्तै अध्ययन, निर्माण र सञ्चालनका लागि बेग्लाबेग्लै अनुमति लिनुपर्ने र सोहीअनुसार राजस्व तिर्नुपर्ने व्यवस्था गरिएको थियो । उक्त कार्यविधिमा हाल सञ्चालनमा रहेका केबलुकारहरूले समेत नयाँले जस्तै दर्ता प्रक्रिया पूरा गर्नुपर्ने उल्लेख थियो । त्यही व्यवस्थाप्रति यसअघि सञ्चालनमा आइसकेका केबुलकार कम्पनीहरूले आपत्ति जनाएका थिए । कार्यविधिमा भएको उक्त व्यवस्थालाई कम्पनीहरूले कार्यविधि पारित हुन नदिन दबाब दिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
यसैबीच केबुलकारको अनुमति दिने सम्बन्धमा एकपछि अर्को विवाद देखिन थालेपछि करिब तीन महिना सरकारले नै निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ऐनअनुसार सञ्चालन अनुमति दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपछि भौतिक पूर्वाधार मन्त्रालयले बुट ऐनअनुसार नै आशयपत्रलगायतको ढाँचा तयार पारिरहेको मन्त्रालयका सीडीई नीरज शर्माले बताए । ‘कार्यविधिसँगै सरकारको निर्णयअनुसार आवश्यक डकुमेन्ट तयार पार्ने काम भइरहेको छ,’ शर्माले भने ।
यसैबीच गत २९ असोजमा जारी भएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का कारण केबुलकार सञ्चालनका सम्बन्धमा थप जटिलता देखिएको छ । उक्त ऐनले केबुलकार, ट्रेकिङ, बन्जी जम्पिङलगायतका नवीन पर्यटकीय सेवा तथा साहसिक खेलबाट स्थानीय कर, सेवा शुल्क तथा दस्तुर उठाउन अधिकार दिएको छ ।
तर, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरू स्थानीय सरकारको क्षेत्राधिकारमा उक्त सेवा आउँदा विस्तारमा सघाउ पुग्ने दाबी गर्छन् । ऐनमा भएको त्यही व्यवस्थालाई देखाएर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यसअघि तर्जुमा गरिएको कार्यविधिलाई अन्तिम रूप दिएर हस्तान्तरण गर्न अनुरोधसमेत गरिसकेको छ ।
स्थानीय तहबाटै अनुमति, सञ्चालन, नियमन हुने हो र त्यसले केबुलकारको विस्तारमा सघाउ पुर्‍याउने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाको दाबी छ । ‘यतिका वर्षसम्म दुईवटा केबुलकार मात्र सञ्चालन भएका छन् । स्थानीय तहलाई यस्ता पर्यटकीय सेवा जिम्मा दिने हो भने ८/१० वर्षभित्र कम्तीमा पनि दसवटा कम्पनी सञ्चालनमा आउनेछन्,’ थपलियाले दाबी गरे, ‘यदि त्यो अधिकार पाएर पनि सञ्चालन गर्दैनन् भने त्यो स्थानीय तहको कमजोरी हुनेछ ।’